पूर्व राज्यमन्त्री शर्मा प्रहरी फन्दामा यसरी परे

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ ।
महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लगेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।
गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ ।
ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लु बुकसमेत बरामद गरेको छ ।
ब्लु बुकमा सांसदको प्रयोजनाका लागि लेखिएको छ । २०५४ जेठ १९ गते बागमती अञ्चलमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लु बुकमा प्रज्ञापन पत्र नम्बर ६७०८ र रजिस्ट्रर नम्बर ५६३६६ उल्लेख छ ।
कानुनतः कुनै पनि सवारी सधानको इन्जिन र च्यासिस नम्बर दर्ता किताबमा जे छ त्यही उल्लेख हुनुपर्छ ।

0 comments

Write Down Your Responses